जनसम्पर्क समिति अमेरिकाको पछिल्लो विवाद भिडियोमा

२०७७ असार १६ गते २१:१६ Realkhabar

Exclusive Video

अमेरिका ३० जुन – नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति अमेरिकाका पदाधिकारीहरुबीच पछिल्लो पटक भएको विवाद भिडियोमा सार्वजानिक भएको छ । जुम प्रविधिमार्फत समितिका बोष्टन च्याप्टरका हरिप्रिया ढुंगेलले संयोजन गरेको उक्त भिडियोमा एकले अर्कालाई मुख छाड्दै “त त र म म”  शैलीमा गालीगलोजमा उत्रेका छन् । उक्त भिडियोमा समितिका अमेरिकाका अध्यक्ष आनन्द विष्ट र समितिकै पूर्व संयोजक विष्णु सुवेदीबीच चर्काचर्की भएको छ । विष्ट पक्षमा गनिने गौतम दाहालले विधानमा जनसम्पर्क समितिबाहेक तरुण दल, विद्यार्थी संगठन लगायत कोही पनि अस्तित्वमा नरहेको तर्क गरेपछि समितिकै पूर्व संयोजक सुवेदीले उनलाई “ए गौतमे सुन” भन्दै बीचमै रोकेका छन् । त्यसपछि समितिका सभापति विष्ट र पूर्वसंयोजक सुवेदीबीच भनाभन नै शुरुभयो । बैठकमा गौतमे कसले भनेको भन्दै विष्ट सुवेदीतर्फ खनिएपछि सुवेदी पनि विष्टप्रति खनिदै जनसम्पर्क समितिमा आनन्द विष्ट एण्ड कम्पनी नरहेको र माउपार्टी सभापति शेरबहादुर देउवाले भनेर केही नहुने भन्दै कुर्लिएका छन् । त्यसपछि विष्टले पनि “मुला” शब्द प्रयोग गर्दै सुवेदीलाई जवाफ फर्काउदै कस्सिएको भेटिन्छ ।

बैठकमा सहभागी कतिपयले विवाद नगर्न भनेपनि चर्काचर्की अगाडी बढेपछि बैठक रोक्न अनुरोध गरिएको छ । उक्त भिडियो ४ घण्टालामो भएपनि सम्पादन गरिएको छोटो भिडियो सार्वजानिक भएको भेटिएको छ । समितिको वर्तमान समितिको कार्यकाल सकिएको पनि लामो समय भैसकेको र अधिवेसन पनि हुन नसकेर कानूनी अडचन पनि शुरु भैसकेको भन्दै समस्या कसरी समाधान गर्न सकिन्छ भनेर छलफलको लागि उक्त बैठक डाकिएको बुभिन्छ । बैठकमा केन्द्रिय पदाधिकारीदेखी समितिकै संस्थापन पक्ष र नेपालदेखी अमेरिकासम्मका कानून व्यवसायीहरुको उपश्थिति रहेको देखिन्छ ।  समानान्तर हैसिएत भएको दावी गर्ने विष्ट र सुवेदीपक्ष हालसम्म एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने अवस्थामा देखिन्छन । समितिको विवादको असर वेलावेलामा एनआरएन अमेरिका लगायतका विभिन्न संघसंगठनहरुमा पनि देखिदै आएको छ । यसअघि पनि पटक पटक विवादमा तानिइसकेको समितिको विवाद अन्त्य गर्न हालसम्म माउ पार्टी पनि असफल देखिन्छ ।