६० प्रश्न बाबुरामलाई
जीवन
१). के कस्ता काममा व्यस्त हुनुहुन्छ अचेल ?
नेपालमा आर्थिक क्रान्ति सम्पन्न गर्ने ध्याउन्नमा व्यस्त छु ।
२). तपाईंको नजरमा प्रेम ?
समान उद्देश्यप्रतिको लगाव नै प्रेम हो ।
३). तपाइको विवाह प्रेम कि मागी ?
प्रेम !
४). पहिलो प्रेम प्रस्ताव तपाईंले गर्नुभयो कि हिसिला यमीले ?
मैले !
५). तपाईंको जीवनमा सबैभन्दा पीडादायी क्षण ?
युद्ध मोर्चामा कमरेडहरू शहीद भएको क्षण ।
६). तपाई आफ्नो जीवनमा सबैभन्दा बढी खुसी भएको कुनै क्षण ?
गणतन्त्र घोषणा भएको दिन ।
७). नेपाल भित्र तपाईं नपुगेको कुनै जिल्ला ?
केही सूदूर पश्चिमका जिल्ला छन् जुन छिटै भ्रमण गर्दैछु ।
८). समय र फुर्सद पाए नेपालको कुन ठाउँमा गएर समय बिताउन चाहनुहुन्छ ?
हिमालको फेदीमा ।
९). तपाईका आदर्श व्यक्ति ?
कार्ल माक्र्स ।
१०). तपाईं प्रभावित भएको कुनै व्यक्ति ?
त्यस्तो कुनै व्यक्ति विशेषलाई किट्न सम्भव देख्दिनँ ।
११). तपाईंलाई कतिपय मानिस घमण्डी भन्छन् नि ?
भन्नेलाई नै सोध्नु उपयुक्त होला । म अन्तरमुखी भएको कारणले कतिपयलाई त्यस्तो भ्रम पर्न सक्छ ।
१२). तपाईंलाई मन पर्ने खाना ?
सुक्खा रोटी र करेलाको तरकारी ।
१३). खाना पकाउन र भाँडा माझ्ने काम मध्ये कुन रोज्नुहुन्छ ?
भाँडा माझ्ने । किनकि त्यसमा समयको वचत हुन्छ ।
१४). तपाईंका विदेश भ्रमणहरु ?
यूरोपका कतिपय देश, अमेरिका, जापान आदि ।
१५). तपाई हाँस्न निकै कन्जुस्याईं गर्नुहुन्छ भन्छन् नि ?
त्यो मेरो प्राकृतिक स्वभाव होला ।
१६). तपाईका कमजोरी र सफलताका पाटाहरु के के हुन् ?
मानिससंग कम घुलमिल गर्ने मेरो कमजोरी हो भने कडा परिश्रम शायद मेरो सफलता हो ।
१७). तपाई सबैभन्दा बढी विश्वास केमा गर्नहुन्छ ?
विज्ञान र कडा मेहनतमा ।
१८). ठट्टा/रमाइलो गर्न कत्तिको मन पराउनुहुन्छ ?
सामान्य रुपमा मन पराउँछु ।
१९). स्कूले जीवनमा तपाईको लक्ष्य राजनीति नै थियो या अरु केही ?
अमूर्त रुपमा देश र समाज सेवा गर्ने लक्ष्य थियो । तर ठोस विचार वनिसकेको थिएन ।
२०). तपाईको एस्.एल्.सी देखि संविधानसभाको चुनावसम्मका नतिजा बताईदिनुस् न ?
त्यो सवैको अगाडि रहेको खुला रहस्य हो ।
२१). तपाईको दृष्टिकोणमा मृत्यु के हो ?
जुन चीज जन्मन्छ त्यसको मृत्यु हुनैपर्छ, यो द्वन्दवादको नियम हो । त्यसैले मेरो निम्ति मृत्यु स्वाभाविक र अपरिहार्य प्रक्रिया र विज्ञानको नियमको पुष्टी हो । आफ्नो मृत्यु कसैले देख्न नसक्ने भएकाले मृत्युवारे कसैले सोच्नु र चिन्ता गर्नु नै व्यर्थ छ । त्यसैले म मृत्यु वारे सोच्दैसोच्दिनँ ।
राजनीति
२२). तपाईंको दृष्टिकोणमा राजनीति के हो ?
वर्ग संघर्षको हतियार हो ।
२३). राजनीतिको महत्व के देख्नुहुन्छ ?
वर्गीय मुक्ति ।
२४). तपाई राजनीतिमा लाग्नुको कारण ?
न्यायपूर्ण र समुन्नत समाज निर्माण गर्न ।
२५). राजनीति र जीवन वीचको अन्तरसम्वन्ध के पाउनुहुन्छ ?
मेरो निम्ति अव राजनीति नै जीवन हो र जीवन नै राजनीति हो ।
२६). पार्टी र सरकारको जिम्मेवारीमा के कस्तो फरक अनुभूति पाउनुभयो ?
पार्टीमा वढी वैचारिक-राजनीतिक काम हुन्थ्यो भने सरकारमा वढी व्यवहारिक काम ।
२७). नेपाल कस्तो भएको हेर्न र बनाउन चाहनुहुन्छ तपाई ?
विश्वको सम्पन्नतम र समतामूलक देश ।
२८). अध्यक्ष प्रचण्डसँगको तपाईको पहिलो भेट ?
२०३७ सालमा वनारसमा सम्पन्न अखिल भारत नेपाली विद्यार्थीसंघको चौथो सम्मेलनमा ।
२९). कहिल्यै दोस्रो नहुने तपाई, माओवादी आन्दोलनमा तपाईको स्थान सधैं दोस्रो रह्यो नि ?
मैले कहिल्यै आफुलाई पहिलो नम्वरमा राख्ने उद्देश्यले काम गरेको छैन । आन्दोलनमा स्थानको फैसला इतिहासले गर्छ ।
३०). पार्टीभित्र तपाईलाई गर्मीको चिसो कोक र जाडोको तातो चियाको रुपमा तपाईको क्षमतालाई प्रयोग गरिएको जनता महशुस गर्छन् नि ?
म आफुलाई त्यस्तो लाग्दैन । म सामान्य मान्छे हुँ ।
३१). अध्यक्ष प्रचण्ड र तपाईबीचको सम्वन्ध चिसिएको भन्ने हल्ला सत्य हो ?
सच्चा क्रान्तिकारीहरू वीचको सम्वन्ध सधैं एकता-संघर्ष-एकतामा आधारित हुन्छ ।
३२). साँच्चिकै गणतान्त्रिक नयाँ नेपाल निर्माणको निम्ति तपाईंको भिजन/विचार के छ ?
१० वर्षमा गरीवी र पछौटेपनको अन्त्य गर्ने, २० वर्षमा मध्यमस्तरको विकासको तहमा पुग्ने र ४० वर्षमा विश्वकै सम्पन्नतम देशको कोटीमा पुग्ने ।
३३). बढ्दो बेरोजगारी र युवा शक्तिहरु पलायन भइरहेको यो अवस्था रोक्न केही सोच्नुभएको छ कि ?
देशको तीव्र औद्योगिकरण गरेर देशभित्रै उत्पादनशील रोजगारीको सिर्जना गर्ने र विदेश पलायन रोक्ने । यस वर्ष शुरु गरिएको स्वरोजगार कार्यक्रम त्यसको शुरुवात हो ।
३४). तपाइलाई मन पर्ने नेता/नेतृ ?
लेनिन ।
३५). एकीकृत नेकपा माओवादी पार्टीका तमाम कार्यकता/योद्धाहरु तथा व्यारेकमा कष्टकर जीवन बिताई रहेका जनमुक्ति सेनाका कमरेडहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?
मौलिक ढंगले क्रान्तिसम्पन्न गर्न प्रतिवद्ध वनौं र भविष्यप्रति आशावान वनौं । आवश्यक पर्दा थप वलिदानको निम्ति तयार रहौं ।
३६). आगामी बजेट कस्तो बनाउने तयारीमा हुनुहुन्छ ?
\’उत्पादनशील रोजगार, नयाँ नेपाल निर्माणको आधार\’ आगामी वजेटको मुख्य नारा र अन्तरवस्तु हुनेछ ।
३७). पुँजीवादसँगै विश्वभर दिनप्रतिदिन माक्र्सवादीहरूको संख्या बढ्नुको कारण के होला ?
पुँजिवादकै गर्भवाट समाजवाद जन्मने हुनाले पुँजिवादी संकट वढ्दै जाँदा माक्र्सवादी क्रान्तिकारीहरूको संख्या वढ्दै जानु स्वाभाविक कुरा हो ।
३८). माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि अरू दलहरूवाट वढी आलोचित भएको छ नि ?
राम्रो काम गर्नेको आलोचना हुनु स्वाभाविक हो । साथै स्वस्थ आलोचनाले गल्ती सच्चाउन मद्दत पनि पुग्छ । यसवारे मलाई संस्कृतको यो श्लोक भन्न मन लाग्छ- \’जिवन्तु मे शत्रुगणाः सदैव, एनाम् प्रासादात् सुविचक्षणोहम्, यदा यदा माम् विकृतिम् लभन्ते, तदा तदा माम् परिवोधयन्ति ।\’ अर्थात् , मेरा शत्रुहरू सधैं वाँचिरहून् , जसको कृपाले म धेरै चनाखो वनेको छु । किनकि जव जव मैले गल्ती गर्नपुग्छु, तव तव उनहिरूले मलाई सतर्क गराइदिन्छन् ।
साहित्य/कला/मनोरंजन/विविध
३९). कुनै पुस्तक र आफ्नी एक्ली छोरी मध्ये कसलाई बढी प्रेम गर्नुहुन्छ ?
दुवैलाई वरावरी गर्छु ।
४०). अध्ययनको महत्व ?
दुनियाँलाई वुझ्ने र वदल्ने ज्ञान हासिल गर्नु ।
४१). तपाईलाई किताबको किरो भनिन्छ नि ?
त्यस्तो वन्न सके मलाई गौरवको अनुभूति हुनेछ ।
४२). कितावमा उल्लेख गरिने सैद्धान्तिक पक्ष र व्यावहारिक जीवनमा कस्तो अन्तर पाउनुभएको छ ?
सिद्धान्त र व्यवहार वीच नङ र मासुको सम्वन्ध हुनुपर्दछ । त्यस्तो हुन नसकेको सिद्धान्त अन्धो र व्यवहार लंगडो हुन्छ ।
४३). तपाईले सबैभन्दा वढी रुचाएको पुस्तक ?
मैले धेरै पटक भनेको छु , मेरो सर्वकालिक मन पर्ने पुस्तक स्टेफन हकिङको \’ए वि्रफ हिष्ट्रि अफ टाइम\’ हो ।
४४). कुनै मन पर्ने पात्र ?
लुस्युनको उपन्यास \’आह क्यू को साँचो कथा\’ को पात्र आह क्यू मेरो सवभन्दा मन पर्ने पात्र हो ।
४५). तपाईलाई खेल्न र हेर्न मन पर्ने खेलहरु के के हुन ?
मलाई व्याडमिन्टन खेल्न मन पर्छ भने क्रिकेट हेर्न मन पर्छ ।
४६). मन पर्ने लेखक/लेखिका ?
स्टेफन हकिङ ।
४७). मन पर्ने साहित्यकार ?
पारिजात ।
४८). मन पर्ने संगीतकार ?
नेपालका रायन/रामेश र भारतका ए.आर्. रहमान ।
४९). मन पर्ने नायक/नायिका ?
मह जोडी ।
५०). चलचित्र कत्तिको हेर्नुहुन्छ ? हेरेका मध्य सबैभन्दा बढी तपाईंले मनपराएका चलचित्र ?
फुर्सद पाउँदा हेर्छु, तर आजकल धेरै भयो पाएको छैन । श्याम वेनेगलको फिल्म \’अंकुर\’ मेरो सवभन्दा मनपर्ने फिल्म हो ।
५१). अहिलेको परिवेशमा युवाहरुले पढ्नै पर्ने पुस्तक ?
चे ग्वेभाराको जीवनी ।
५२). पढ्दा कस्तो वातावरण मनपराउनु हुन्छ ?
शान्त र एकान्त वातावरण ।
५३). अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
Bad Samaritan
५४). पढ्न कति समय छुट्टाउनुहुन्छ ?
निश्चित् समय आजकल छैन । फुर्सद भएको सवै समय पढ्न मै खर्चन्छु ।
५५). तपाईको वेबसाइटमा आउने पाठक प्रतिक्रिया/सुझावहरुले तपाईलाई के कस्तो मद्दत पुगिराखेको छ ?
आफ्ना सकारात्मक र नकारात्मक पक्ष वुझ्न निकै मद्दत पुगेको ठान्छु ।
५६). वेबसाइटमा आउने सबै पाठकका सुझावहरु पढने समय पाउनुहुन्छ ?
केही दिन विराएर सवै सुझावहरू पढ्ने गरेको छु ।
५७). तपाईंको विचारमा सूचना के हो ?
सत्य र तथ्यको जानकारी नै सूचना हो ।
५८). तपाई सूचना पाउन कुन सञ्चार माध्यम बढी प्रयोग गर्नुहुन्छ ?
पत्रपत्रिका र टि.भी.
५९). विश्वव्यापीकरणलाई प्रतिभा पलायनसँग कसरी दाँजेर हेर्न सकिन्छ ?
प्रतिभा पलायन भनेको असमान विकासको परिणाम हो । देशहरू वीचको विद्यमान असमानता हटाएर मात्रै प्रतिभा पलायन रोक्न सकिन्छ ।
६०). देश/विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
नयाँ समुन्नत र न्यायपूर्ण नेपाल वनाउन स्वदेशमै आˆनो उत्पादनशील उर्जा खर्च गरौं ।
प्रस्तूति : विश्वदीप पाण्डे















![SUSHIL-KOIRALA[1]](http://realkhabar.com/real/wp-content/uploads/2012/06/SUSHIL-KOIRALA1-70x60.jpg)


