एमालेले असन्तुष्ट जनजाति नेताहरुलाई जिम्मेवारीबाट हटायो
काठमाडौं, साउन ४ – नेकपा एमालेले जातीय पहिचानसहितको संघीयताको पक्षमा उभिएका अदिवासी जनजाति नेतालाई कारवाही गर्दै जिम्मेवारीबाट हटाएको छ । एमाले स्थायी समितिको बैठकले केन्द्रीय अनुशासन आयोगले सोधेको स्पष्टिकरण सही भएको ठहर गर्दै उपाध्यक्ष अशोक राई सतिका असन्तुष्ट जनजाति नेतालाई जिम्मेबारीबाट हटाएको हो ।
बुद्धिजिवी विभागबाट रकम चेम्जोङलाई हटाएर गोकर्ण विष्टलाई दिइएको छ भने समावेशी विभागमा किरण गुरुङको ठाउँमा उर्मिला अर्याललाई ल्याइएको छ । एमालेले राजेन्द्र श्रेष्ठलाई यसअघि नै उपत्यका इन्चार्जबाट हटाइसकेको छ । उहाँको ठाउँमा स्थानमा केपी ओली निकट कृष्णगोपाल श्रेष्ठलाई ल्याइएको छ ।
अन्य विभागमा जिम्मेबारी फेरफेर गरेको एमालेले असन्तुष्ट नेताहरुलाई भने नयाँ जिम्मेबारी दिइएको छैन । श्रोतका अनुसार पार्टीको औपचारिक कार्यक्रम र बैठक बहिस्कार गरेकाले काममा नफर्किएसम्म असन्तुष्ट नेताहरुलाई जिम्मेवारी दिइने छैन । एमाले स्रोतले यसलाई सांकेतिक कारवाही भनेको छ ।
जातीय पहिचानसहितको संघीयताको पक्षमा उभिएका राईसहितका जनजाति र मधेसी नेताहरुले ‘अग्रगामी विचार सूमह’ भन्दै पार्टीको औपचारिक बैठक तथा कार्यक्रम बहिस्कार गर्दै आएका छन् ।

















