डेढ लाखभन्दा धेरै चिठी अलपत्र
साउन,२८ पूर्वाञ्चलमा एक महिनादेखि हुलाकी वस्तुको ढुवानी ठप्प हुँदा विभिन्न क्षेत्रमा पुग्नुपर्ने डेढ लाखभन्दा धेरै चिठी अलपत्र परेका छन् । ७२ घन्टामा संसारको जुनसुकै कुनामा चिठी पत्र पठाउन सकिने यो आधुनिक समयमा एक महिनादेखि डेढलाख चिठी एकै स्थानमा थन्कनुलाई कर्मचारी हुलाक डुबाउने चाला बताउछन । पूर्वाञ्चलका १६ जिल्लाका सर्वसाधारण तथा सरकारी कार्यालयका चिठी हप्तौँसम्म गन्तव्य स्थानसम्म पुग्न नपाउँदा जरुरी कामसमेत प्रभावित भएको बताइन्छ । हुलाकी वस्तुको ढुवानी गर्ने ठेकेदार आलोककुमार गुप्ता र विजयकुमार गुप्ताले चिठीको ढुवानी गर्न अटेर गरेकै कारण जनकपुरपूर्वका हुलाक कार्यालयमा यस्तो अवस्था सिर्जना भएको हो । क्षेत्रीय हुलाक कार्यालयले हुलाकी वस्तुको नियमित ओसारपसार गर्न गुप्ताबन्धुको विजय बसलाई ठेक्का दिएको हो तर ठेकेदारले एक महिनाअघिदेखि अचानक सेवा बन्द गरेको छ । क्षेत्रीय निर्देशक पुष्पराज ढुङ्गानाले ठेकेदारले चिठी बोक्न अटेर गरेपछि चिठी पु¥याउने काम ठप्प भएको स्विकार्नुभयो । उहाँका अनुसार मिर्चैया, लहान, कञ्चनपुर, कल्याणपुर, रुपनगर, इनरुवा, इटहरी, उर्लाबारीस्थित हुलाक कार्यालयमा अन्यत्रबाट ल्याइएका डेढ लाख बढी चिठीको थाक लागेको छ । निर्देशक ढुङ्गानाले बन्द हड्तालले झन् समस्या थपिएको बताउनुभयो । झापा जिल्ला हुलाक कार्यालयका विदुर अधिकारीका अनुसार तीन सातायता झापाबाट कुनै पनि चिठी जिल्ला बाहिर लैजान सकिएको छैन र झापामा चिठी आएका पनि छैनन् । उहाँले ढुवानी ठप्प हुँदा ठूलो क्षति पुगिरहेको उल्लेख गर्दै माथिल्लो निकायमा समाधानका लागि पहल गरिदिन अनुरोध गरिएको बताउनुभयो । हुलाक वस्तुको ओसारपसार ठप्प भएपछि पूर्वी नेपालका साधारण रजिस्ट्री, वैदेशिक पार्सल र धनादेश सेवा प्रत्यक्षरुपमा प्रभावित भएका छन् । हुलाकमा भरपर्नुपर्ने अदालत, प्रशासन, प्रहरी, लोकसेवा आयोगलगायतका सरकारी काममा समेत यसले नराम्रो असर पुगेको छ । लापरबाही गरेर अत्यावश्यक हुलाक सेवा ठप्प पार्ने ठेकेदारलाई कारबाही गर्न र वैकल्पिक व्यवस्था गरेर सेवा सञ्चालन गर्नेतर्फ सम्बन्धित निकायको अहिलेसम्म ध्यान गएको छैन । रासस

















