बी एण्ड बी हस्पिटल र प्रदीपमान वैध कालोसूचीमा
१८ साउन, काठमाडौ । बी एण्ड बी हस्पिटलका प्रवद्र्धकद्वय जगदीशलाल वैद्य र अशोककुमार बाँस्कोटा तथा उद्योगी प्रदीपमान वैध बैंकबाट लिएको ऋण नतिरेपछि कालोसूचीमा परेका छन् । बी एण्ड बी हरिसिद्धि मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल खोल्नका लागि नबिल बैंक लिमिटेडबाट लिएको ऋण नतिरेपछि उनीहरु कालोसूचीमा परेका हुन् ।
उक्त कलेज एण्ड रिसर्च सेन्टरले २० करोड रुपैयाँ कर्जा लिएको थियो तर कर्जा लिएको लामो समय भइसक्दा पनि वैद्यले हालसम्म सावाँब्याजवापत ६ करोड मात्र तिरेको र बाँकी १४ करोड रुपैयाँ तिर्ने विषयमा तदारुकता नदेखाएपछि कालोसूचीमा राख्न लगाएको नबिल बैंक स्रोतले बताएको छ । नबिल बैंकको आग्रहमा कर्जा सूचना केन्द्रले सोमबारदेखि उनीहरुलाई कालोसूचीमा राखेको हो ।
यसबाहेक प्रदीपमान वैद्यको प्रत्यक्ष संलग्नता रहेको विजयदीप इन्भेष्टमेन्ट कम्पलीलाई पनि कालोसूचीमा राखेको केन्द्रले बताएको छ । कालोसूचीमा पर्ने निश्चित भएपछि उनलाई हालै सम्पन्न सेञ्चुरी बैंकको साधारणसभाले अध्यक्षबाट हटाएको थियो । सो बैंकका संस्थापक अध्यक्ष प्रदीपमान वैद्य बैंकका मुख्य प्रमोटर हुन् । नेसनल हाइड्रोपावर कम्पनीका अध्यक्षसमेत रहेका वैद्यले एनबी गु्रपसँग मिलेर लगानी गरेका हुन् ।
एनबी समूहद्वारा प्रवद्र्धित हरिसिद्धि इँटा कारखानाको जग्गा लिएर बी एण्ड बी हस्पिटल र प्रदीपमान वैध मिलेर उक्त कलेज खोज्ने तयारी गरेका थिए तर एनबी समूहले आफूहरुलाई फसाएको दाबी बी एण्ड बी अस्पतालले जनाएको छ । उक्त कम्पनी कालोसूचीमा पर्ने क्रममा बाबुकाजी श्रेष्ठ, नविन श्रेष्ठ र प्रभुकेसर प्रधान पनि कालोसूचीमा परेका छन् । उनीहरु मुख्य प्रवद्र्धकका नातेदार हुन् ।


















