Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

मन्त्रिपरिषद्बाट बजेट सिफारिश, अध्यादेश लिएर प्रधानमन्त्री राष्ट्रपति कार्यालय जाँदै

budget

काठमाडौं । सोमवार(भोली)देखि सुरु हुने नयाँ आर्थिक वर्षका लागि आइतवार(आज) आंशिक बजेट अध्यादेश आउँदैछ । अर्थमन्त्रालयले तयार पारेको आंशिक बजेटलाई आइतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिश अनुसार आज मध्यरात अघि नै राष्ट्रपतिले भोलिदेखि लागू हुने गरी बजेट अध्यादेश स्वीकृत गर्नुपर्दछ । क्याविनेटबाट पारित भएको अध्यादेश प्रधानमन्त्री र अर्थमन्त्रीले लिएर अहिले राष्ट्रपति कार्यालय जाने कार्यक्रम छ । आज दिउँसो राष्ट्रपति कार्यालयबाट बजेट अध्यादेश स्वीकृत भएपछि अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ देखि ४ बजेको वीचमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नेेछन् ।
एक तृतीयांश बजेटमा शान्तिप्रक्रिया र निर्वाचनका लागि थप रकम विनियोजन गरेर सरकारले आंशिक बजेट जारी गर्न लागेको हो । मन्त्रिपरिषद्ले अन्तरिम संविधानको धारा ९६ ख अनुसार अध्यादेश बजेट सिफारिश गरेको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
निर्वाचन आयोगले मागेबमोजिम सात अर्ब ६ करोड रुपैयाँ, निर्वाचन सुरक्षाका लागि तीन अर्ब रुपैयाँ, स्वेच्छिक अवकाशमा गएका लडाकुको दोस्रो किस्ता भुक्तानीका लागि चार अर्ब रुपैयाँ र समायोजनामा जान लागेका लडाकुका लागि नेपाली सेनातर्फ एक अर्ब रुपैयाँ वृद्धि गरेर आंशिक बजेट आउन लागेको हो ।
सुरुमा सरकार र काँग्रेस एमाले लगायतका दलवीच पूर्ण र आंशिक बजेटका विषयमा विवाद थियो भने माओवादी अध्यक्ष प्रचण्डले सर्वदलीय बैठक डाकेपछि सरकार आंशिक बजेटका लागि तयार भएको थियो । आंशिक र एक तृतीयांशको विवाद बढेपछि सरकारले चुनाव र शान्ति प्रक्रियाका केही कार्याक्रम थपेर अध्यादेश सिफारिश गर्ने र राष्ट्रपति कार्यालयले त्यसलाई स्वीकृति दिने सहमति भएको थियो ।

  • buddha
  • name