लगातारको वर्षाले लमजुङ कारागार भत्कियो
लमजुङ, साउन ४ – लमजुङ सदरमुकाम वेसीशहरमा रहेको लमजुङ कारागार बिहीबार अपरान्ह भत्किएको छ । अविरल बर्षाका कारण वेसीशहरको शेरामा रहेको कारागारको पूर्वपट्टीको पर्खाल भत्किएको हो ।
९ बर्षअघि, २०६० सालमा भत्किएर पुनः मर्मत गरिएको भित्तो फेरि भत्किएको प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले जानकारी दिनुभयो । कारागार २०३० सालमा निर्माण गरिएको हो । पर्खालको आधाभन्दा बढी भाग भत्किएको छ ।
कारागारको पर्खाल भत्किएपछि प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी लगायत लमजुङका सुरक्षाप्रमुखहरु कारागारमा पुगेका थिए । अहिले तारजाली र जस्तापातले पर्खाल अड्याइएको छ ।
२५ जना क्षमता रहेको ‘घ’ श्रेणीको लमजुङ कारागारमा अहिले ३९ जना पुरुष, ५ जना महिला र २ जना बालवालिका कैदीबन्दी रहेका छन् ।
















