सहमतिको पहल गर्न राष्ट्रपतिलाई आग्रह
काठमाडौं, असार २०
राष्ट्रपति डा रामवरण यादव र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, बजेट तथा राजनीतिक गतिरोध अन्त्यका बारेमा छलफल भएको थियो ।
भेटपछि वरिष्ठ नेता नेपालले राष्ट्रिय सहमतिको अर्को सरकार गठनले मात्र मुलुकको बढ्दो राजनीतिक सङ्कटले निकास पाउने बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले एमाओवादी नेतृत्वको सरकारले देशलाई पीडा मात्र दिएको र यो सरकारले पूर्ण बजेट ल्याउन नसक्ने बताउनुभयो ।
“पूर्ण सहमति अनि अर्को सरकार भनेर एमाओवादीले फेरि अर्को लफडा निकालेको छ, पूर्ण सहमति भएको भए त जेठ १४ मै संविधान बन्थ्यो, यो त केवल देशलाई बर्बादी, सङ्कट र पीडा दिने कुरा मात्र हो,” वरिष्ठ नेता नेपालले भन्नुभयो । उहाँले संवैधानिक सङ्कटमा फसेको सरकारलाई लम्बाएर देशलाई थप पीडा दिन नहुने धारणा राख्नुभएको थियो ।
संवैधानिक र राजनीतिक रुपमा फसिसकेको वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै वरिष्ठ नेता नेपालले सहमतिको पहल गर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो ।
जवाफमा राष्ट्रपति डा यादवले आफू संविधानअनुसार चल्ने बताउँदै दलहरुबीच सहमतिका लागि नेताहरुले पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभएको पनि नेता नेपालले जानकारी दिनुभयो ।


















