किन पड्कियो त ! ग्यालेक्सी एसथ्री
अहिलेको चर्चित इलेक्ट्रोनिक्स तथा ग्याजेट कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले एक रिपोर्ट सार्वजनिक गर्दै ग्यालेक्सी एस थ्री पड्कनुको मुख्य दोष खराव विद्युत सर्किटमाथि थोपरेको छ। एक प्रयोगकर्ताले ६३ हजार रुपियाँ भन्दा महँगो पर्ने उक्त स्मार्ट फोन पड्किएको एक वेभसाइटमा सार्वजनिक गरेका थिए। यसले विश्वभरका स्मार्टफोन प्रयोगकर्तालाई चकित बनाएको थियो।
यसबारे अनुसन्धान गरेको बेलायतको फायर इन्भेस्टिगेसन्सले स्मार्टफोनमा कुनै खरावी नरहेको तर विद्युत प्रवाह गलतरुपमा हुँदा आगो लागेको तथ्य सार्वजनिक गरेको हो। उक्त रिपोर्टले आगलागी हुनुमा सामसुङ डिभाइसको दोष नरहेको उल्लेख गर्दै चार्ज गर्दा ताप उत्पन्न भएको जनाएको छ।
आगजनीपछि ब्रान्ड इमेज जोगाउन सक्रिय रहेको दक्षिण कोरियाली कम्पनी सामसुङले बेलायतको स्वतन्त्र अनुसन्धान गर्ने संस्थालाई घटनाको सत्यतथ्य बाहिर ल्याउन जिम्मा दिएको थियो।
गत मे २९ मा बिक्री थालिएको उक्त एसथ्री एप्पलको आइफोनसितको प्रतिस्पर्धामा उत्रिएको थियो। ग्यालेक्सीको एस सेरिजमा आगलागी भएपछि मानिसहरू यो स्मार्टफोन किन्न सतर्क भएका थिए। डब्लिनमा रहेका एक उपभोक्ताले बलेको स्मार्टफोनको तस्बिर इन्टरनेटमा राखेपछि यसमाथि सबैको ध्यान खिचिएको थियो। उनले कारको ड्यासवोर्डमा फोन पडि्कएको बताएका थिए। ती ग्राहकले ड्राइभ गरिरहँदा एक्कासी आगजनी सुरु भएको र पडि्कएको कुरा बाहिर ल्याएका थिए।

















