नेपालको नयाँ नक्सा प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत अनुमोदन

२०७७ जेठ ३२ गते ३:०४ Realkhabar

नेपालको नयाँ नक्सा शनिबारको प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत अनुमोदन गरिएको छ।

नेपालको लिम्पियाधुरा,लिपुलेक,कालापानी भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशानछापमा समावेश गर्न ल्याइएको उक्त विधेयक अनुमोदन गरिएको हो ।

बैठकमा २५८ सांसद उपस्थित सबैले संविधान संशोधन विधेयकको पक्षमत दिएसँगै संविधान संशोधन विधेयक दुईतिहाईभन्दा बढीमतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए ।

यही जेठ ९ गते सरकारले सङ्घीय संसद्मा संविधान संशोधन गर्न विधेयक दर्ता गरेको थियो । जेठ १८ गते कानूनमन्त्री डा तुम्बाहाङ्फेले प्रतिनिधि सभासमक्ष प्रस्तुत गरेकी थिइन् ।प्रतिनिधिसभाबाट दुईतिहाइ बहुमतका आधारमा पारित भएपछि उक्त विधेयक राष्ट्रियसभामा दुईतिहाइका आधारमा अनुमोदन गर्नुपर्नेछ।

संविधानमा उल्लेख भएअनुसार दुवैसदनबाट पारित विधेयकलाई सभामुखले प्रमाणितगरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनु पर्नेछ ।राष्ट्रपतिबाट १५ दिनभित्र उक्त विधेयक प्रमाणीकरण भई सोही मितिदेखि संशोधित संविधान लागू हुनेछ।

मन्त्रि परिषद्ले जेठ५ गते नेपालको उक्त भूभाग समेटेर अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेपछि जेठ ७ गते भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अद्यावधिक नक्सा सार्वजनिक गरेको थियो ।