१ अध्यक्ष र ६ जना सदस्य चयनका लागि अण्डा उत्पादक संघको अधिवेशनमा मतदान हुँदै

२०७६ साउन ११ गते १९:१२ Realkhabar

चितवन ११ साउन । सहमतीमा नयाँ नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि नेपाल अण्डा उत्पादक संघको अधिवेशनमा मतदानको प्रकृया सुरु भएको छ । अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी परेपछि कडा सुरक्षाका बीच रत्ननगर स्थित होटल स्टार व्याङक्यूटमा अहिले मतदानको क्रम जारी छ । मतदानलाई सहज र व्यवस्थित बनाउन सुरक्षाकर्मीले समेत सघाई रहेका छन् । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् । मतदान विवाद रहित होस भनेर तीनठाउँमा चेकजाँच गरेर मात्रै मतदान गर्न मतदाताहरुलाई हल भित्र प्रवेश गर्न दिइएको छ । मतदान स्थलमा कुनै पनि अप्रिय घटना हुन नदिन इलाका प्रहरी कार्यालयका रत्ननगरका प्रहरी नायव उपरीक्षक सन्तोष आर्चायकै कमाण्डमा प्रहरी खटिएका छन् ।
अधिवेशनमा दुई वटा समुह प्यानलनै वनाएर चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका शिवराम केसी र रघुनाथ भट्टले प्यानल बनाएर निर्वाचनमा गएका हुन् । केसी र भट्ट दुवै नेपाली काँग्रेस निकटका हुन् । १ अध्यक्ष र ६ जना सदस्य चयनका लागि मतदान भइरहेको छ ।
वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका भट्टको प्यालनमा पिताम्वर सन्जेल, गोकुलनाथ पौडेल, जर्नादन अधिकारी, सुर्दसन आचार्य, चिरञ्जिवी पौडेल र प्रेम गैरेले उम्मेदवारी दिएका निर्वाचन समितिले जनाएको छ । निवर्तमान अध्यक्ष समेत रहेका केसीको प्यानलबाट किरणभुषण ओली, विनोद अधिकारी, भरत कार्की, राजकुमार श्रेष्ठ, ललित जिसी र प्रविण केसीको उम्मेदवारी परेको छ । निर्वाचनमा देशभरबाट उपस्थित भएका ६ सय ९७ जना अण्डा उत्पादक किसानहरुले मताधिकार प्रयोग गर्नेछन् ।