तीनदशकदेखी रक्तदान गर्दै हिडिरहेका मैनाली

२०७७ असार २३ गते १:२८ Realkhabar

नेपाली समुदायमै सवैभन्दा धेरैपटक रक्तदान गर्ने नेपाली रक्तदाता अर्जुनप्रसाद मैनाली । सन १९८६ तिर कलेज पढदाताकाको कुरा हो । मिनभवन क्याम्पसमा आईकम पठनपाठनको क्रममा उनले पढेको “द व्लड डोनर” शीर्षकले आकर्षित गर्यो । सन् १९८७ अगष्ट २० मा घुम्दैजाँदा विशाल बजारमा रक्तदान कार्यक्रम देखे । कलेजमा पढेको रक्तदान सम्वन्धि सामाग्रि सम्झेर पहिलो पटक रक्तदान गरे ।

मैनाली यसबारे थप बुझनको लागि फुर्सद भयो कि काठमाडौस्थित प्रदर्शनीमार्ग स्थित रक्त सन्चार सेवा केन्द्रमा पुग्ने गर्थे । त्यहाँ विरामीका आफन्तहरुको भीड हुनेगर्दथ्यो । रगतको खोजीमा आएकाहरुको त्यहाँ हरेक दिन ठूलो भीड लाग्ने गर्दथ्यो । कहिलेकाँही त रगतको अभाव भएर फर्किनुपर्दथ्यो । एकदिनको कुरा हो । रक्त सच्चार केन्द्रमा एकजना आफ्नो श्रीमतिको शल्यक्रियाका लागि दुई पोका रगत माग्न त्यहाँ पुगेका थिए । केन्द्रले रगत नभएको र उनलाई नै रगत दिएर श्रीमती बचाउन सल्लाह दिएपछि उनी डराएका थिए । यो कुरा त्यहाँ पुगेका मैनालीले नजिकबाट सुनिरहेका थिए ।
रक्तसन्चारमा रगतको अभाव र आफ्नो श्रीमतिलाई समेत रगत दिन डराएको कुराले रक्तदानलाई कसरी बढाउन सकिन्छ ताकि सवैले अप्ठयारोमा यसको सुविधा प्राप्त गर्न सकोस भनेर सोच्न थाले । उनले रक्तदानसम्वन्धि पत्रपत्रिकामा प्रकाशित सामाग्रिहरु, पुस्तक पढ्न थाले । यसमा उनको खोज शुरुभयो । उनले पत्ता लगाए रगत भनेको मुटु र रक्तनलीमा लगातार वगिरहने तरल पदार्थ हो । रगत मासी अर्थात वोनम्यारोमा तयार हुन्छ । रगत वन्नका लागि चाहिने तत्व खानाबाट प्राप्त हुन्छ । रगतमा हुने रातो रक्तकोषको जीवन १ सय २० दिन, प्लेटल्ेटसको ५ देखी ७ दिन, सेता रक्तकोषको आयु लगभग एक दिनको हुन्छ । रगत ए,वि,ओ र एबि समुहका हुन्छन् । रगतका ती समुहमा पनि आर एच पोजिटिभ र नेगेटिभ हुन्छन् ।

उनको अध्ययनसँगै उनले अगाडी वढाए रक्तदानको पुण्य काम । रगतदानको बारेमा उनले केहि अध्ययन गरेपछि रक्तदानको काममा नसा चढिसकेको थियो । नेपालमा रक्तदान र यो उत्प्रेरणा जगाउने काममा हिडिरहन्थे । श्रीमतिको लागि पनि रक्तदान गर्न डराएको देखेका मैनालीले १६ पटक रक्तदान गरेपछि सन् १९९० डिसेम्बर ५ देखी १९९१ जनवरी ५ सम्म नेपाल अधिराज्यव्यापी साईकल यात्रा गरि रक्तदानमा मानिसलाई जुट्न प्रेरणा दिनै हिडे । साईकिलमा बर्षको कम्तिमा एकपटक रक्तदान गरौं भन्दै हिडेको उनी सम्झन्छन् मानिसहरु रक्तदान गर्न निकै डराउथे । रक्तदानमा उनीहरुलाई पनि आकर्षण गराउनका लागि यो यात्रा गरेको थिए ।” यसरी शुरुभएको थियो मैनालीको रक्तदान अभियान । यो कामलाई उनले अन्तराष्टिय समुदायमाझ पुरयाउने विचारले सन १९९५ मा कोलकतामा भएको इन्टरनेश्नल कोलोक्वियम अन एजुकेसन एज अ टुल फर व्लड डोनर मोटिभेसन एण्ड रेक्रुटम्यान्टमा भाग लिने अवसर पाए । त्यसपछि उनले सन् १९९८ मा मुम्वई र सन् १९९९ मा जेनेभामा आयोजित रक्तदानको विषयमा आयोजित अन्तराष्टिय आयोजनामा पुगेर थप प्रेरित भए ।
नेपालका दुर्गम २६ जिल्लामा गर्भवती र सुत्केरी महिलालाई सरकारी स्वास्थ्य प्रयोगशालामार्फत रेडक्रससँग सहकार्य गरी निशुल्क रगत उपलव्ध गराउने उद्देश्यले शुरु गरको अभियानमा उनले सहभागिता जनाए । सन २०१२ मा नेपालबाट न्युयोर्क आएका तत्कालिन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठमार्फत एक लाख रुपैया सहयोग गरेर उक्त अभियानलाई सघाएका थिए । रक्तदानका लागि प्रेरक परिचय वनाईसकेका मैनालीले सन् २०१९ मा विश्व स्वास्थ्य संगठनले रुवान्डामा आयोजना गरेको विश्व रक्तदान दिवस २०१९ मा १५ देशका करिव ३०० सहभागीहरुमाझ रक्तदान गरेर उनीहरुका लागी प्रेरणादायी सम्वोधन गरे । उनले मलावी, युगाण्डा, इथियोपिया, रुवान्डा, केन्या, हइटी, इक्वइडरमा रक्तदान गरिसकेका छन् । अहिलेको अवस्थामा ती देशहरुमा गर्भवती महिलाहरुले अत्याधिक रक्तस्रावका कारण ठूलो संख्यामा ज्यान गुमाउने गर्दछन् भने नवजात शिशु र ५ बर्षमुनिका वालवालिका रक्तअल्पताका कारण मृत्यु हुनेगर्दछ । उनले अल्प विकसित देशहरुमा मात्र होइन अमेरिका लगायत क्यानडा, अष्टेलिया, मकाउ, आयरल्याण्ड, वेर्मुडा जस्ता देशहरुमा पुगेर रक्तदान गर्दै यसलाई अन्तराष्टियरुपमा फैलाईसकेका छन् ।

रक्तदानको माध्यमबाट मैनालीले पुरयाएको योगदानको मुल्याडकन गर्दे लायन्स क्लब इन्टरनेशनलको लियो अफ दि एयर १९९६ पुरस्कार प्राप्त गरिसकेका छन् । नेपालमा तत्कालिन राजा विरेन्द्र शाहबाटसमेत मैनालीले सम्मान प्राप्त गरिसकेका छन् । मैनालीले अमेरिकाका पूर्व राष्टपति जर्ज बुसबाट प्रेसिडेन्टियल भोलन्टियर सर्भिस अवार्ड सम्मान प्राप्त गरेका छन् । पछिल्लो पटक २०१९ डिसेम्बर २२ लाई उनी बसिरेहेको अमेरिकास्थित वेयष्र्टर वे टाउन, न्युयोर्कले उनको सम्मानमा विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा गरेर ठूलो सम्मान गरेको छ । यो सम्मान उक्त टाउनमा प्रदान गरिने सवैभन्दा ठूलो सम्मानको रुपमा लिईन्छ ।


रक्तदानलाई मानसेवाको सवैभन्दा पुन्य र ठूलो सामाजिक कामको रुपमा हेरिन्छ । रक्तदाता मैनालीले यसलाई विभिन्न व्यक्ति र संस्थामार्फत अगाडी वढाईरहेका छन । यसका साथसाथै मनकारी मैनालीले रगतको अभावमा मृत्यु भएका परिवारकालागी, महिला हिंसा, भुकम्प पीडित, आगलागी, घरेलुहिंसा लगायतका असहज र अमानविय घटनामा पर्नेहरुलाई आर्थिक सहयोग गर्ने काममा पनि हात हालेको पाईन्छ । उनका अनुसार अध्याधिक रक्तस्रावले ज्यान गुमाएकी मुगुकी जैकला नेपाली, शौचालयमा बस्दै आएकी गुल्मीकी ज्ञानी परियार, गुल्मीमा वलत्कारको शिकार भएकी एक वालिकाको उपचार र पढाईमा उनले सहयोग गरेका थिए । गरिबीका कारणले दशै जस्तो चाडमा पनि आफ्ना वालवालिकाहरुलाई मिठो खानेकुरा खुवाउन नसकेको कुराले आत्माग्लानी भई आत्महत्या गरेका चितवन माडीका धनबहादुर दमाईको परिवार, इनार खनाउन र ऋण तिर्न भारततिर गएका तर उतै घरमूनि च्यापिएर मृत्यु भएका दाड गोल्टाकुरीका दिपक वलिको परिवारलाई मैनालीले सहयोग गरेका थिए ।

नेपालमा रहेको वेला सन् १९८९ मा नेपाल व्लड डोनर्स क्लव (व्लड डोनर्स एशोसिएसन नेपाल)को स्थापना गरि रक्तदान सम्वन्धि विशेष योगदान पुर्याएका मैनालि सन् २००९ मा व्लड डोनर्स अफ अमेरिका भनेर संस्थाको स्थापना गरेर यसलाई निरन्तरता दिए । यसक्रममा अमेरिकाका १४ राज्यहरुमा पुगेर त्यहाँका स्थानिय युवा र संघसंस्थाहरुलाई रक्तदान जस्तो सामाजिक कार्यमा लाग्न उत्तप्रेरित गरे । साथै सन् २०१४ मा इन्टरनेशनल नेप्लिज व्लड डोनर्स नामक संस्था स्थापना गरि विश्वका अन्य युवा युवतिहरुलाई पनि रक्तदानमा हौसला प्रदान गर्न ६ वटै महादेशका १७ वटा देशमा पुगेर रक्तदान अभियानलाई अगाडी वढाए ।


एकदिन उनी कार्यलयमा पुगेपछि टेवलमा एउटा समाचारपत्रमा उनका आँखा अडिए । उक्त समाचारमा मलावी देशका राष्टपतिले आफ्ना जनतालाई भोकभारीको चरम अवस्थाको वेला मुसा, किरा फट्याँग्रा खाएर ज्यान जोगाउनु भनेको खबरले उनको मन चसक्क छायो । मन भएपनि सामान्य जागिरी गरिरहेका उनलाई त्यहाँ पुगेर सहयोग गर्ने कुरा त्यति सहज भने थिएन । तर उपाए खोज्दै जानेक्रममा ऋणको रुपमा रकम जुटाएर त्यहाँ पुगे । एकजना अमेरिकन रक्तदान गर्न आउने कुरा सुनेर युवा, स्वयमसेवक, सन्चारकर्मीहरु गरि ३७ जना जम्मा भएका रहेछन् । उनीहरुलाई मैनालीले रक्तदान गरि आफ्ना सफल रक्तदान कार्यक्रमहरुका अनुभव सुनाउदै रक्तदानको अभियानमा लाग्नका लागि १ हजार डलर सहयोग गरे । त्यो सहयोगबाट उनीहरु निकै खुशी भए किनकी त्यो रकम स्थानियमा ७ लाख ५० हजार हुने रहेछ ।

त्यसैगरि मैनाली रक्तदान गर्नकै लागि २२ घण्टा टाढाको अष्टेलियामा पुगे । वेलायतका नेपालीहरुलाई रक्तदान कार्यक्रममा संगठित रुपमा लाग्नको लागि १ हजार डलर सहयोग गरे । उनले युरोपियन मुलकदेखी संसारका अफ्रिकी देशहरुमा पुगेर रक्तदानको कार्यक्रम समानरुपमा सहयोग गरेका छन् ।

त्यसैगरि नेपालमा पनि सक्रिय रक्तदाताहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले नेपालका तत्कालिन उपराष्टपति परमानन्द झाको हातबाट ३ जना रक्तकर्मीहरुलाई कदरपत्र सहित जनही ५० हजार रुपैयाले सहयोग गरे । उनले काभे्रमा ५० पटकभन्दावढि रक्तदान गर्नेहरुलाई ६ सय भन्दा सहभागी मानिसहरुको जुलुसबाट नगरपरिक्रमा गराई सभाहलमा सम्मान गराएका थिए । नेपालको सुदुरपश्चिमको बाजुरा जिल्लादेखी काठमाडौ उपत्यकाका विद्यालयहरुगरि करिव ८० हजार विद्यार्थीहरुमा रक्तदान जिवनदान विषयमा निवन्ध प्रत्रियोगितामार्फत रक्तदानको लागि उत्प्रेरणा जगाए । स्थानियदेखी राष्टिय र राष्टियदेखी अन्तराष्टिय स्तरसम्म रक्तदाताहरुलाई संगठित गर्दै रक्तदान अभियानलाई विश्वव्यापी वनाउदै हिडेका मैनालीको योगदान अतुलनिय देखिन्छ ।