विद्यार्थीलाई नियमित गराउन पहाडी स्कुलले दिवाखाजा माग्यो /विद्यालय सुधारका लागि रणनीतिक योजना बनाउन आन्तरिक तयारीमा कालिका

२०७६ साउन ७ गते १९:१४ Realkhabar

पिविएम न्यूज ।
चितवन ७ साउन । चितवनको कालिका नगरपालिका अन्तर्गत पहाडी क्षेत्रका विद्यालयहरुले दिवाखाजाको माग गरेका छन् । विद्यार्थीहरुलाई नियमित गराउन दिवाखाजाको माग गरेका हुन । भौगोलिक हिसावले पहाडी क्षेत्रका बालबालिकाहरुलाई स्कुल पुग्न कठिन छ । घण्टौं पैदल हिडेर स्कुल पुग्नुपर्ने बाध्यता छ । कतिपय विद्यार्थीहरु विहान ७ बजे स्कुल हिडेपछि मात्रै १० बजे स्कुल पुग्छन् । स्कुल विदा भएपछि घर पुग्दा साँझ हुन्छ । पछिल्लो समयमा दिवा खाजा कार्यक्रम हटाएपछि विद्यार्थीहरु स्कुल आउन छाडेका छन् । यस अघि जिल्ला शिक्षा कार्यालय मार्फत पहाडी क्षेत्रका स्कुलहरुमा दिवा खाजा कार्यक्रम संचालन हुँदै आएको थियो ।
विद्यालयका शिक्षकहरुका अनुसार खाजा कार्यक्रम हटाएपछि कतिपय टाढा टाढाका विद्यार्थीहरु स्कुल आउनै छाडेका छन् । पहाडी क्षेत्रका स्कुलमा अध्ययन गर्ने अधिकाङ्स चेपाङ समुदायका बालबालिकाहरु छन् । राष्ट्रिय आधारभूत विद्यालय दौतेसका प्रधानाध्यापक अञ्जना श्रेष्ठका अनुसार कतिपय विद्यार्थीहरु भोक लागेपछि हाफ टिफिनमै घर गइदिन्छन् ।

पहाडी क्षेत्रका अधिकाङस स्कुलको समस्या उस्तै छ । चेतनाको अभावका कारण शिक्षालाई प्राथमिकता दिन नसक्ने चेपाङका बालबालिकाहरु अध्ययनका लागि आउने गर्दछन् । विद्यालय आउँदा कपि कलम समेत लिएर आउँदैनन । शुभशान्ति आधारभूत विद्यालय सैपामका निमित्त प्रधानाध्यापक नविन गुरुङले दिवाखाजा कार्यक्रम हटेपछि विद्यार्थीहरुमा अध्ययन गर्न आउने जागर नै हराएको सुनाए । पहाडी क्षेत्रका विद्यालयहरुको भवन सँगै अन्य भौतिक संरचनाहरुको अवस्थापनि दयनिय छ । एउटै कक्षामा दुई – दुईवटा कक्षाका विद्यार्थीहरु राखेर पढाउनुपर्ने बाध्यता छ । राष्ट्रिय आधारभूत विद्यालय दौतेसले इसिडी र कक्षा १ का विद्यार्थीलाई सँगै राखेर पढाउँदै आएको छ । कक्षा ३ सम्म पढाई हुने स्कुलमा २ वटा कक्षा कोठामात्रै छ । दौतेसमा मात्रै नभई पहाडी क्षेत्रका ११ वटा विद्यालयको अवस्था यस्तै छ । नगरपालिकाले नगर शिक्षा समिति नै बनाएर पहाडी क्षेत्रका विद्यालयहरुको बारेमा डिजिटल सहित स्थलगत निरीक्षण समेत गरेको छ । उप सचिव नारायण वाग्लेको संयोजकत्वमा भएको स्थलगत अध्ययन अवलोकनमा स्कुलको वातावरण, भौतिक पूर्वाधारको अवस्था, सिकाई उपलब्धि कस्तो छ, कार्यालय व्यवस्थापन, विद्यार्थीहरुको संख्या लगायतलाई आधार बनाएर निरीक्षण गरिएको छ । शाखा अधिकृत ऋषिराम शर्माका अनुसार आगामी दिनमा नगर भित्रका शिक्षाको रणनीतिक योजना बनाउने उद्देश्यले नगर शिक्षा समितिका पदाधिकारी सहितको टोलीले सम्पूर्ण सामुदायिक विद्यालय तथा नगरक्षेत्रका संस्थागत विद्यालयहरुको निरीक्षण तथा अनुगमन गरेको थियो । सामुदायिक विद्यालयहरुको शिक्षालाई गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सबै विद्यालयमा पुगेर सत्य, तथ्य तथ्यांक संकलन गर्ने काम सकिएको छ । –“केहि दिनभित्रै अध्ययन अनुगमनमा देखिएको वास्तविकताको प्रतिवेदन नगरप्रमुखलाई बुझाउने छौं – ” शाखा अधिकृत शर्माले भन्नुभयो । अध्ययनमा गएको टोलीले नगरपालिकालाई स्कुलको बारेमा प्रतिवेदन बुझाएपछि मात्रै पहाडी क्षेत्रका स्कुल व्यवस्थापनको विषयमा ठोस कदम चाल्न सकिने नगर प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नगरभित्रका सामुदायिक विद्यालयहरुको व्यवस्थापनलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । शैक्षिक संस्थाहरुको विकास नभए सम्म नगर सम्बृद्ध हुन नसक्ने भन्दै नगरप्रमुख श्रेष्ठले शैक्षिक संस्थाको विकासमा हातेमालो गर्न नसक्ने शिक्षकहरुलाई कावार्ही गरिने समेत बताउनुभयो ।

नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरु जेनतेन गरी संचालनमा भइरहेकाले विद्यालयको स्तर बृद्धिका लागि नगरपालिकाले ठोस योजना बनाउने तयारीमा लागेको समेत नगर प्रमुख श्रेष्ठले बताउनुभयो । योजनामा नगर क्षेत्रका विद्यालयहरुलाई निश्चित टार्गेट दिइनेछ । टार्गेट पुरा गर्न नसक्ने प्रधानाध्यापकहरुलाई अयोग्य ठहर गर्दै सधैका लागि विदा समेत गर्न सक्ने अधिकार नगरपालिकालाई भएकाले सोहि अनुसारका कदमहरु चाल्न नगरपालिका पछि नपर्ने उहाँको भनाई छ । कालिका नगरपालिका भित्र ३५ वटा सामुदायिक विद्यालय  र ११ वटा संस्थागत विद्यालयहरु छन् ।