रंगशाला निर्माणको काम सुरुभएकै दिन १६ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त

२०७६ साउन ७ गते २०:२७ Realkhabar

भरतपुर ७ साउन । चितवनमा निर्माण भइरहेको क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक संकलन हुने क्रम जारी छ । रंगशाला निर्माणकार्य पुन सुरु भएकै दिन चितवनको भरतपुरमा १६ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । रंगशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनलाई एक कार्यक्रममा बीच उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य डा. तिलचन्द्र भट्टराई सहित पञ्चरत्न ग्रुपले १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

भरतपुरमा एक कार्यक्रमका बीच फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सहयोग रकम प्रदान गरिएको थियो । यसैबीच फाउण्डेशनलाई पुर्वेली समाज चितवनले पनि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समाजले ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । यस्तै भरतपुर महानगरपालिकाको वडा नं. १२ का वडा अध्यक्ष नरेन्द्र कन्दङवाले पनि फाउण्डेशनलाई एकलाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

पूर्वली सेवा समाजले आयोजना गरेको आर्थिक हस्तान्तरण कार्यक्रममा नै अध्यक्ष कन्दङवाले पनि सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्ण डल्लाकोटी लगायत सहभागी थिए ।