रुकुम पश्चिम हत्याकाण्ड मानवताविरुद्धको बर्बर अपराध : रविन्द्र मिश्र

२०७७ जेठ १३ गते १६:०० Realkhabar

काठमाडाैं, May 26, 2020

साझा पार्टीका संयोजक रविन्द्र मिश्रले रुकुम पश्चिममा आफ्नो प्रेमिकासँग बिहे गर्न गएका भनिएका एकजना दलित युवा नवराज विश्वकर्मा र उनका दुईजना साथीहरूको हत्या भएको घटना मानवताविरुद्धको बर्बर र नृशंस अपराध भएकाे बताएका छन् । सो घटनामा थप पाँच जना बेपत्ता भएको र पाँच जना घाइते भएको बताइएको छ।

मिश्रले म‌ंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्. ‘सत्तारूढ दलको वडा अध्यक्षसमेत आक्रमणमा संलग्न भएको समाचार झनै चिन्ताजनक छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेकाे त छ, तर घटनालाई सामसुम पार्न राजनीतिक सकृयता बढेको चर्चा चलिरहँदा छानबिन समिति राजनीतिक प्रभावबाट मुक्त होस् भनी साझा पार्टी खबरदारी गर्दछ।’

उनले भनेका छन्, ‘पछिल्लो यो लगायत मुलुकका अन्य क्षेत्रमा पनि बारम्बार भइरहने दलितविरुद्धको भेदभावले नेपालको संविधानले न्यायपूर्ण, भेदभावरहित र समावेशी समाजको परिकल्पना गरे पनि गाउँ-गाउँसम्म आफ्नो प्रभुत्व र प्रभाव रहेका राजनीतिक दलहरू र समाजका अगुवाहरूले जातीय भेदभावको मध्ययुगीन पाशविक कृत्यलाई हटाउन नसकेको स्पष्ट संकेत गर्दछ।’

मिश्रका अनुसार, जातीय विभेद तथा छुवाछुत अन्त्य गर्नको लागि संवैधानिक र कानूनी व्यवस्था गरेरमात्र पुग्दैन। त्यसको प्रभावकारी, व्यवहारिक कार्यान्वयनका लागि उपयुक्त संयन्त्रको निर्माण गरियाेस्, दोषीमाथि कडाभन्दा कडा सजायँको स्पष्ट व्यवस्था गरियाेस् र राष्ट्रियस्तरमै सामाजिक सचेतना कार्यक्रमहरू सुरु गरोस् भनी साझा पार्टी जोडदार माग गर्दछ।

विज्ञप्तिमा छुवाछुत तथा जातीय विभेदविरुद्ध शुन्य सहनशीलतामा विश्वास गर्दछ र आफ्ना सदस्यहरु लगायत आम सर्वसाधारणलाई अग्रपंक्तिमा रहेर विभेदविरुद्ध काम गर्न आग्रह गरिएको छ। Source:BL News