साउदीबाट १ सय ५३  जनासंगै  एउटा लाश पनि स्वदेश फर्किर्दै । 

२०७७ असार ४ गते २२:४३ Realkhabar

दम्माम, साउदीअरब १८ जुन – साउदीअरबबाट १ सय ५३ जना श्रमिकसँगै एक जनाको लास नेपाल फर्किएको छ ।  उक्त लास  ओखलढुंगा घर भएका हाल साउदी अरबमा कार्यरत हरिबहादुर बस्नेतको रहेको साउदीमा रहेका एनआरएनका मध्येपूर्व उपसंयोजक राजेन्द्र अर्यालले रियलखबरलाई  जानकारी दिए । साउदी अरबको स्थानिय समय अनुसार रातको ११ बजे विभिन्न समस्याको कारण नेपाल फर्कन नपाएका नेपाली श्रमिकहरू मध्ये ८ महिला सहित १५३ जना नेपाली श्रमिकहरू लिएर साउदी अरबको दम्माम बाट नेपालको लागि हिमालय एयरले पहिलो उडान गरेको छ।

साउदीअरबमा बहिर्गमन भिषा लिईसकेका नेपाली श्रमिकहरू विगत तिन महिना देखी विश्व व्यापी कोरोना भाईरसको कारण उत्पन्न महामारीले गर्दा नेपाल जान नपाई विभिन्न प्रकारको समस्याहरूको सामाना गरीरहेका मध्ये नेपाल सरकारले तय गरिएको प्राथमिकताको आधार अनुसार प्राथमिकतामा परेको ३३ सय १३ जना मध्ये  उनीहरुलाई साउदी अरबको पूर्वी शहर दम्माम एयरपोर्टबाट स्वदेश फर्किएका छन् ।

“कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरबमा असहज अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन अर्को उडानहरू २० जुनमा दम्मामबाट र २१ जुनमा रियाद बाट हुने तय भएको छ भने उक्त उडानको लागी दुताबासमा आएको निवेदन र नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा यात्रुहरूको नामावली नेपाली दुताबास रियादले सार्वजनिक गरिसकेको छ।