यात्रा रहेछ जिन्दगी
२०७७ असार १४ गते २:२३
Realkhabar
सहदेव पौडेल -
भन्छन् जिन्दगी एक यात्रा हो र हामी एक यात्री! हिड्दै जांदा को को भेटिन्छ, कसरी हामी सहयात्री बन्छौ? र एउटा अबिष्मरणिय यात्राको रचना गर्छौं! यो एउटा त्यस्तै यात्राको कथा हो। यो कथा हालै टर्किश एयरलाईन्सबाट काठमाण्डू हुंदै अमेरिका आउने क्रममा परिचय भएका यात्रु साथीहरुको हो।
अमेरिका जाने डिभी परेपछि खुशी नहुने परिवार को होला र! त्यसमा पनि छोरा छोरीको भबिष्य जोडिए पछि त खुशी झन् दोब्बर हुने नै भयो। लकडाउनको समय छ। नियमित उडानहरु बन्द छ। अमेरिकाको पनि दुई तिनवटा एयरपोर्ट मात्र खुलेको छ। भिसाको अबधि सकिनुअघि नै उड्नु छ तर कसरी? चिन्तामा हुनुहुन्छ बस्नेत परिवार! भर्खरै बिए पास गरेर बसेकी आफ्नी छोरीलाई पनि डिभी परेपछि अर्याल बा पनि खुशी हुनुभयो। तर छोरी यस्तो अबस्थामा कसरी एक्लै अमेरिका जान सक्छे त? चिन्ताको भारीले अर्याल बालाई पनि सतायो ।
परिवारसंग छुट्टी मनाउन नेपाल पुगेका राई दाईलाई पनि आफ्नो यता अमेरिकाको घर ब्यबहार सम्हाल्न अमेरिका फर्कनु नै छ। ईलाममा बसिरहेका राई दाईले एक दिनअघि टिकट पक्का गरेर आफ्नी सानु छोरा सहित रातारात काठमाण्डू आईपुगे। सबारी पास लिन भोग्नु परेको दुख र बल्ल बल्ल अमेरिका फर्कन पाउनुको मिश्रित भाव राई दाईमा देख्न सकिन्थ्यो। रिजाल भाई बिवाह गर्नै भनेर फेब्रुवरीमा नेपाल गएका थिए। लकडाउनले गर्दा समयमा फर्कन पाएनन् । ग्रीनकार्डमा ६ महिना भन्दाबढि नेपाल बस्दा समस्या आउने भएकोले कसरी हुन्छ फर्कन पाए हुन्थ्यो भनेर रिजाल भाई चिन्तित थिए। एकै दिन अगाडी टिकट पक्का भएपछि उनी पनि भर्खरै बिवाह बन्धनमा बाधिएकी जीवन संगीनीलाई छाडेर कर्मथलो लागे । म पनि ४ महिना देखि नेपालको लकडाउनमा फसेको थिएं। यता घर ब्यबहार सम्हाल्न आउनैपर्नै भयो र आफ्ना दुई साना छोराहरु र श्रीमतीलाई नेपालमै छाडेर अमेरिका आउने निर्णय गरें।
टिकट सामन्य बेलाको भन्दा डब्बल तेब्बर थियो। चार्टर फ्लाईटको नाम दिएर करिब तीनहजार डलरबाट सुरु भएको टिकट हामी फर्कने बेलामा १७०० डलरमा आई पुगेको थियो। महंगै टिकट भए पनि फर्कनैपर्ने जानैपर्नै बाध्यताले हामी सबैलाई बाधेको थियो । लकडाउनको समयमा अमेरिका त्यो पनि कोरोनाले आक्रान्त पारेको बेलामा रहरले को आउछ होला र! सबैसॅंग एउटा बाध्यात्मक परिस्थिती थियो। त्यसैले धेरै यात्रुहरुको अन्तिम गन्तब्य न्युयोर्क नभए पनि जसरी हुन्छ अमेरिका आईपुगे पछि बाकी हेर्दै जाऔंला र जसरी पनि आफ्नो गन्तब्यमा पुगिएला भन्ने आशा गरेर हामी सबै उड्यौं।
एक छोरा, एक छोरी, श्रीमती र आफु न्युयोर्कबाट कसरी भर्जिनिया पुग्ने होला? चिन्तामा हुनुहुन्थ्यो बस्नेत परिवार! पहिलो पटकको यात्रा, चिनजानको कोही छैन! न्युयोर्क कहाॅं हो? भर्जिनिया कहाॅं हो? कसरी यात्रा गर्ने अत्तोपत्तो केही थिएन। संयोगले मेरो परिचय उहाॅहरुसंग भयो र म पनि भर्जिनिया नै जाने थाहा पाएपछि, उहाॅंहरुको डर, चिन्ताको भारी हलुकोभयो र आनन्दको स्वाश फेर्नु भयो । त्यसैगरि अर्याल बा पनि एयरपोर्टमा आफ्नी छोरीको लागि भर्जिनियासम्म जाने साथी खोज्दै हुनुहुन्थ्यो। म पनि भर्जिनिया जाने थाहा पाए पछि ‘देवता’ नै भेटिए झै खुशी हुनु भयो। र छोरी पनि आफ्नो यात्रा सहज हुने भएकोले खुशी भईन्।
काठमाण्डू बाहिरका हामी धेरै सवारी पास लिएर मात्रै काठमाण्डू जान सक्थ्यौं । सवारी पासको नाममा हरेक जिल्ला प्रशाशन कार्यलयले सबैलाई दुख दिएको थियो । राई दाई भन्नुहुन्थ्यो अमेरिका जाने टिकट छ, तर ईलामबाट काठमाण्डू जाने सवारी अनुमति छैन । मेरा कति साथीहरु त १५/१६ हजार तिरेर एम्बुलेन्समै भएपनि काठमाण्डू आउने तयारीमा हुनुहुन्थ्यो । हामी सबै आ-आफ्नो कथा ब्यथा बोकेर अन्त्यमा जहाज भित्र पस्यौं। आफ्नो सिट वरपरका साथीहरुसॅग परिचय गर्दै जादा थाहाभयो, राई दाईलाई टेन्नेशी पुग्नु रहेछ। ईलामबाट हिड्दा देखिको चिन्ताले छोडेको थिएन अब कसरी टेन्नेशी पुग्ने चिन्ता थपियो। त्यस्तै चिन्ता थियो बोस्टन पुग्नुपर्ने लक्ष्मीलाई, न्यु ह्याम्पसायर पुग्नुपर्ने केसी परिवार र ओहायो पुग्नु पर्ने जयलाई । प्लेन यात्रा त्यति सुखमय नभए पनि हामी न्युयोर्क ओर्लन पाउदां भने खुशी नै थियौं। कसैको श्रीमान मेरील्याण्ड, भर्जिनियाबाट ड्राईभ गरेर आफ्नो परिवार लिन एयर पोर्ट आएका थिए। टाढाका राज्यहरुमा जानु पर्नेहरु डोमेस्टिक जहाजको चाजोपाजो मिलाउन लागे। न्युयोर्कका साथीहरु खुशीहुदै आफ्नो गन्तब्य तिर लागे। अनि हामी भर्जिनिया पुग्नु पर्नेहरु गाडीको तयारीमा लाग्यौं। संयोगले साथीहरुको सहयोगले एक नेपाली मित्र संग परिचय भयो र उनले हामीलाई आफ्नो कारमा राखेर भर्जिनिया लेराई दिनु भयो। मैले सबैलाई आ-आफ्नो गन्तब्यमा पुर्याई दिए। सबैजना धेरै खुशी हुनु भयो म पनि चार महिना पछि आफ्नो कर्मघर फर्कन पाएकोमा खुशी भएँ।
यदि कोरोनाको डरले हवाई यत्रा अबरुद्ध नभएको भए सबै यात्रुहरु आफ्नो सहर नजिकैको एयरपोर्टमा कति आनन्दले खुशी हुदै अमेरिका आउथे होलान्! कल्पना गरे भन्दा पनि बढि भाडा, टर्किश एयरलाईन्सको तल्लो स्तरको सेवा, लामो र भोको यात्रा एउटा नमिठो सम्झना भएर बसिरहने छ । नेपाल सरकारले चार्टर फ्लाईटको नाममा अप्ठ्यारोमा परेका यात्रुहरुलाई चुस्नु हुदैन । यस्तो बेलामा त सरकार सहयोगी पो बन्नुपर्छ तर सरकार आफ्नै जनताको दुख चुसेर ब्यापार गर्दैछ । आशा गर्छु आगामी यात्रा सबैको सुखमय होस्। अहिलेसम्म त सबै साथीहरु आ-आफ्नो गन्तब्यमा पुगेर आराम गर्दै हुनुहुन्छ होला। कोही सेल्फ क्वारेन्टिनमा हुनुहोला, कोही महिनौं पछिको घरको सरसफाईमा ब्यस्त हुनुहोला, पहिलो पटक अमेरिका आउनेहरु आफ्ना आफन्तसॅंग नेपालको दुखसुख बाड्दै हुनुहोला । म पनि एक्लै आराम गर्दै गायक रामकृष्ण ढकालको “ यात्रा रहेछ जिन्दगी…..” गुनगुनाउदै छु।
फेरी भेटौंला।
###